हामी आफैँले पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ : अध्यक्ष ओली  

काठमाडौँ । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् ।

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले पुँजी र प्रविधिको विकास गर्ने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । बजेट कार्यान्वयनबारे आफूले सरकारसँग कुरा गरिरहेको उनले उल्लेख गरे ।

“हामीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्दछ । अर्को कुरा, हामी आफैँले पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ,” उनले भने, “हाम्रो पुँजी र प्रविधिले पुगेन भने पुँजी र प्रविधि बाहिरबाट ल्याउने, आकर्षित गर्ने, इन्भेस्ट गर्ने गर्नुपर्दछ ।”

उत्पादन, उत्पादकत्व र उद्योगमा प्रविधिको प्रयोगलगायत कार्य नेपालले गर्न सके मात्र मुलुकको औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिए । ६० प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर रहेको मुलुकमा त्यस क्षेत्रको विकास गरेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए ।