स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

 

काठमाडौँ - सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराई जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो ।

यसअघि, भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यकताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन दिइएको छ । 

अत्यावश्यक र औचित्यपूर्ण अवस्थाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन पनि मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।