आजदेखि राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला हुँदै

काठमाण्डौँ - ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय मह मेला २०८१” हुने भएको छ । मह उत्पादन र खपत बढाउनका लागि व्यापक रुपमा सर्वसाधारणसम्म सूचना प्रवाह गर्ने उद्देश्यले मह मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरू बीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजना र नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजना पाँच दिने मेला आयोजना गरिएको हो ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महका बारेमा उपभोक्तालाई परिचित गराउने महोत्सवको उद्देश्य रहेको बताए ।