आज घोडेजात्रा पर्व मनाइँदै,उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ - काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले त्यसलाई संहार गरे ।

तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । संस्कृतिविद्का अनुसार यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । यो पर्वमा शहरभर घोडा कुदाउने गरिन्थ्यो । बस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको संस्कृतिविद् बताउँछन् ।

शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी घोडेजात्राको राति टुँडिखेलको त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गर्छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगणलगायतले सेनाको अश्वकला अवलोकन गर्ने चलन छ ।

यही दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।