सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागीबारे छानबिन गर्न समिति गठन

काठमाडौँ ।  काठमाडौँस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ) को केन्द्रीय स्टोरमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

सोमबार आगाली भए लगत्तै घटनास्थलमा पुगेका गृहमन्त्री रवि लामिछानेले आगलागीका सन्दर्भमा सिसी क्यामरा हेरेर जाँच गर्न निर्देशन दिएका छन्।

आगलागी भएपश्चात सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रारम्भिक अनुमानमा विद्युत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीले जनाएको छ। आज साँझ ५ बजे लागेको आगो केहीबेर अघि नियन्त्रणमा आएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।

उनले क्षतिको विवरण सङ्कलन जारी रहेको र आवश्यक अनुसन्धान भइरहेको बताए। उक्त गादाम घरमा सशस्त्र प्रहरीका लत्ताकपडा लगायतका सामागी राखिएको थियो। सशस्त्र प्रहरीको त्यो अस्थायी गोदाम घर हो।

बस्तीबीचमा रहे तापनि आसपासमा घर सुरक्षित रहेको उनले जानकारी दिए। आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो।