संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाउनुपर्छ : प्रचण्ड

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताएका छन् । शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

प्रचण्डले बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकर सम्पत्ति शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको बताए । प्रधानमन्त्री प्रचण्डले चैत्र २८ गते विज्ञहरुसँग बसेर यसको प्राविधिक पाटो पनि टुंग्याउने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सदन भित्रको टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटोटुंग्याउन छलफल भयो, सैद्धान्तिक रुपमा हामी सहमत नै छौँ । प्राविधिक पाटो भएकाले विज्ञहरु पनि बसेर २८ गतेको बैठकले टुंग्याउने कुरा भएको छ । हामी सरकारमा बसेकाले फास्ट ट्रयाकबाट टुंग्याउने भनेका छौँ । प्रतिपक्षले समितिमा लैजाने कुरा छ, बीचको बाटो खोज्ने भन्ने पनि छ ।’’ 

प्रधानमन्त्री दाहालले सरकार पक्षधर राजनीतिक दलहरुले भने संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट नै टुंग्याउने पक्षमा रहेको बताए ।