बजार महँगी  यो वर्षकै  न्यून, अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सुधार हुँदै 

काठमाडौँ - बजार महँगी निरन्तर घट्दै गएको देखिएको छ । उपभोक्तामा आधारित मुद्रास्फीति यो वर्षकै न्यून बिन्दुमा आएको छ ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष आठ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । फागुनसम्म आइपुग्दा बजार महँगी ४.८२ प्रतिशत कायम भएको छ । जुन यो वर्षकै न्यून हो । यसअघि गत भदौमा ८.१९ प्रतिशतसम्म पुगेको बजार महँगी अहिले नियन्त्रण भएको आँकडाले देखाएको छ ।

विशेषगरि गत कात्तिकदेखि नै बजार महँगी दर निरन्तर घट्दै गएको राष्ट्र बैंकले जनाएको छ । कात्तिकमा ५.३८ प्रतिशत, मंसिरमा ४.९५ प्रतिशत, पुसमा ५.२६ प्रतिशत, माघमा ५.०१ प्रतिशत रहेको थियो । एकै महिनामै अर्थात् माघको तुलनामा ०.१९ प्रतिशत बिन्दुले महँगी घटेको राष्ट्र बैंकले जनाएको छ । फागुनमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर खाद्य तथा सेवाको ३.९५ प्रतिशत छ । चालु आवको पहिलो महिना साउन मा पनि मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षको साउनमा ८.२६ प्रतिशत, भदौमा ८.६१ प्रतिशत, असोजमा ८.५० प्रतिशत, कात्तिकमा ८.०८ प्रतिशत, मंसिरमा ७.३८ प्रतिशत रहेको थियो । यस्तै, गत वर्षकै पुसमा ७.२६ प्रतिशत, माघमा ७.८८ प्रतिशत र फागुनमा ७.४४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

फागुन मसान्तसम्मको तथ्याङ्कले भने नेपालको मूल्यवृद्धिदर नियन्त्रणमै रहेको पुष्टि गरेको छ । सरकारले चालु आर्थिक वर्षमा बजार महँगी साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य लिएको छ । सरकारले लिएको लक्ष्यअनुसार नै महँगी नियन्त्रण भएको देखिन्छ । आयातमा केही सङ्कुचन देखिएता पनि रेमिट्यान्स ह्वात्तै बढेको छ । अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ ।