भारत पसेकाहरू घर फर्कन थालेपछि सुदूरपश्चिममा कोरोना संक्रमण बढ्यो

 काठमाडौँ - खेतीपाती भित्र्याउने र पर्वको बेला भएकाले मौसमी कामका लागि भारत पसेकाहरू घर फर्कन थालेपछि सुदूरपश्चिममा कोरोना संक्रमण बढेको छ ।

भारतमा संक्रमित भएर फर्किनेको संख्या बढ्न थालेपछि सुदूरपश्चिममा पनि कोरोना संक्रमण तीव्र भएको बताइन्छ ।
कामका लागि भारतका विभिन्न सहरमा रहेका सुदूरपश्चिमका बासिन्दाहरू नयाँ वर्ष र बिसुुुपर्व मनाउन घर फर्किने क्रम बढेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलको तथ्यांकअनुसार कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक दुई हजार जना स्वदेश फर्किन थालेका छन्। तर दुवै नाकामा ७्८ सय जनाको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ । परीक्षणमा कोरोना पोजेटिभ देखिनेलाई आइसोलेसनमा बस्न सुझाव दिइन्छ।

चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई हप्ता नपुग्दै संक्रमितको संख्या करिब एक सय पुगेको छ ।
उनीहरूका कारण गाउँगाउँमा कोरोना फैलिने सम्भावना बढेको छ । कैलालीको गौरीफन्टा नाकामा पछिल्ला १५ दिनमा एन्टिजेन परीक्षणबाट ६१ जनामा कोरोना संक्रमण भेटिएको छ । गौरीफन्टा नाकाको हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले चैत १० गते यता कोरोनाका बिरामीको संख्या बढेको बताए ।