बौद्ध भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही

काठमाडौँ । बौद्ध भिक्षुमाथि प्रहरीबाट भएको दुर्व्यवहारलाई लिएर नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार प्रहरीले काठमाडौंको भद्रकालीमा भिक्षुमाथि लात्त हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो भाइरल भएपछि प्रहरीले ठूलो दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो  ।

तर, प्रहरीले उनीहरूलाई ‘धार्मिक भेषमा उपस्थित प्रदर्शनकारी’ भनेको छ । आइतबार राति प्रहरीले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘प्रहरी कारबाहीको क्रममा यस किसिमका घटनाको पुनरावृत्ति हुन नदिन नेपाल प्रहरी गम्भीर छ ।’
 
साथै, घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीले जनाएको छ ।