नयाँ राष्ट्रपति चयनका लागि भोलि मतदान

काठमाडौँ - नयाँ राष्ट्रपति चयनका लागि बिहिबार मतदान हुँदैछ ।

निर्वाचन आयोगले मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ । आयोगले मतदान स्थल काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र तय गरेको छ । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद राष्ट्रिय र प्रतिनिधि र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् ।

संघीय र प्रदेश सभाका सांसदको मतभार भने फरक फरक रहेको छ । संघीय संसदका एकजना सांसदको मत ७९ मतभारमा गणना हुन्छ भने प्रदेशका सांसदको मतभार ४८ गणना हुन्छ । संघीय संसदमा ३ सय ३४ जना सांसद छन् । जसमा ३ सय ३१ जनाले मतदान गर्न पाउनेछन् । भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ ले मतदान गर्न पाउनुहुने छैन । त्यसैगरी चितवन २ बाट जितेका रबि लामिछानेको सांसद पद गएपछि रिक्त छ । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएको थियो ।

त्यसैगरी सातै प्रदेशमा गरेर ५ सय ५० जना प्रदेश सांसद रहेका छन् । संघीय सांसदको जम्मा मतभार २६ हजार १४९ छ । त्यसैगरी प्रदेश सांसदको कूल मतभार २६ हजार ४ सय हुन्छ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार २७५ मतभार ल्याउनु पर्ने हुन्छ । जम्मा मतदाता ८ सय ८१ जना रहेका छन् ।