निर्माता संघले सञ्चारमन्त्रीलाई बुझाएको ज्ञापन पत्रप्रति चलचित्र संघको आपत्ति

काठमाण्डौँ - नेपाल चलचित्र निर्माता संघले आइतबार सञ्चारमन्त्री रेखा शर्मालाई भेट गरेर बुझाएको ज्ञापन पत्रको केही बुँदाप्रति नेपाल चलचित्र संघले आपत्ति जनाएको छ । संघका सदस्यहरुलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्यकोष दोहन गर्ने, हुण्डी कारोबारलाई प्रोत्साहन दिने, आपराधिक कार्यमा संलग्न रहेको जस्तो गम्भीर, आपत्तिजनक, भ्रमपूर्ण र व्यवसायिक नैतिकता विरुद्धको आरोप लगाएको भन्दै संघले खेद प्रकट गरेको छ ।

सोमबार संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा निर्माता संघको यस किसिमको क्रियाकलापले कार्यदल, वार्ता र छलफलको औचित्यमाथि प्रश्न चिन्ह खडा भएको उल्लेख छ । संघले निर्माता संघको कार्यसमितिलाई एक हप्ताभित्र आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्दै सो समयसम्म सम्पूर्ण वार्ता तथा छलफल स्थगित गरिएको र एक हप्ताभित्र स्पष्ट धारणा नआएमा कार्यदल भंग हुनुका साथै निर्माता संघको वर्तमान नेतृत्व रहँदासम्म कुनै सहकार्य, छलफल र वार्ता नगर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

चलचित्र संघका सदस्यहरुलाई कपोलकल्पित र आपत्तिजनक आरोपसहितको ज्ञापन पत्र वाचन गरी मन्त्रीसमक्ष प्रस्तुत गर्दा उपस्थित भएर कुनै प्रतिक्रिया नजनाएको भन्दै चलचित्र संघले विज्ञप्तिमार्फत् चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र निर्माता संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य आकाश अधिकारीसँग पनि धारणा माग गरेको छ ।