राष्ट्रिय सभा उम्मेदवार चयन: ट्रेड युनियन कांग्रेसको असन्तुष्टि, क्षमता भएकाहरुलाई नजर अन्दाज गरिएको आरोप

काठमाडौँ । नेपाली कांग्रेसले गरेको राष्ट्रिय सभा उम्मदेवार छनोट प्रक्रियालाई लिएर नेपाल ट्रेड यूनियन कांग्रेसले असन्तुष्टि जनाएको छ ।

सोमबार ट्रेड यूनियनका महासचिव अजयकुमार राईले विज्ञप्ति मार्फत राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई नजर अन्दाज गरिएको बताएका छन् ।

उनले मुलुकको संविधानले समेत हरेक वर्ग, क्षेत्र, समुदायको प्रतिनिधित्व सुनिश्चित हुने ब्यवस्था गरेपनि त्यसविपरित कांग्रेसले उम्मेदवार चयन गरेको बताए ।

महासचिव राईले पटकपटक अवसर पाएका ब्यक्तित्वलाई दोहोर्‍याई तेहर्‍याई राष्ट्रिय सभा जस्तो बौद्धिक वर्गको उपस्थिति रहने स्थानमा अवसर दिनु न्यायसंगत नभएको बताए ।

उनले भने, ‘हामी समावेशी उम्मेदवार चाहन्थ्यौँ । यहाँ श्रम क्षेत्र, श्रमिकको आवाज बोल्ने र सहयोगी हुने ब्यक्तित्वलाई पाखा लगाइएको छ । पार्टीले फेरि एकपटक श्रमिकलाई बेवास्ता गरेको महसुस गरेका छौँ।’

मुलुकलाई आवश्यक पर्दा हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका ट्रेड युनियनलगायत पेशाकर्मी, बौद्धिक वर्गको राष्ट्रिय सभामा उपस्थिति बन्चित गराइएको बताए ।

प्रजातन्त्रदेखि गणतन्त्र ल्याउनसम्म अहम भूमिका खेल्ने पक्ष राष्ट्रिय सभाबाहिर राखिनु आफैमा दुःखद भएको बताएका महासचिव राईले सिंगो पार्टीले अवसर नपाएका श्रमिकलाई स्थान दिन गरेको खराब ब्यवहारप्रति ट्रेड यूनियनको गंभीर भएको बताए ।