बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग

 काठमाडौँ - नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन् ।

सांसद खड्काले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई संघीय सरकारका तर्फबाट राहतको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

उनले सङ्खुवासभामा बाढीबाट १८ घरमा क्षति पुगेको, चार जलविद्युत् आयोजनामा पूर्ण क्षति र छ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको बताए । बाढीले नहर तथा कुलो बगाउँदा कतिपय स्थानमा अहिलेसम्म पनि रोपाइँ हुन नसकेकाले आगामी दिनमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुने भन्दै उनले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।

बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९ मजदुर बेपत्ता भएका थिए। तीमध्ये दुई जनाको शव फेला परेको छ। तीनजना घाइतेको उद्धार गरिएको थियो ।