राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट

 काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रबार बिदाइ भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको बिदाई भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा छलफल भएको छ ।

अध्यक्ष तिमिल्सिनाले ठूलो संख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे ।

‘कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत् राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र  नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ,’ उनले भने ।

अध्यक्ष तिमिल्सिनाले कतारलगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रम बजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिकहरु पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।