मुगुमा हिमपहिरो अपडेट : ३२ दिनपछि बेपत्ता ३ जनाको शव फेला !

काठमाडौँ - मुगुमा हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलक ३२ दिनपछि मृतावस्थामा भेटिएका छन् ।

मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की,३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

प्रहरीका अनुसार मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा संकलन गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।

बेपत्ता भएका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको हो । लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको थियो ।