माइतीघरमा धर्नामा बसेकालाई सिंहदरबार आउन गृहमन्त्रीको आग्रह

 काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका स्थानीयलाई छलफलका लागि सिंहदरबार आउन आग्रह गरेका छन् ।

बुधबार धर्नास्थल माइतीघर पुगेर श्रेष्ठले आन्दोलनरत पक्षले राखेका बिषयहरुमा सरकार सकारात्मक रहेको भन्दै छलफलमा बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।

उनले सिर्सिया नदीलाई स्वच्छ राख्नुपर्ने बिषयलाई सम्बोधन गर्न तत्कालिक र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताए। उनले सिर्सियाबासीको समस्या राज्यको पनि समस्या भएकाले सरोकारवाला मन्त्रालयहरुसँग पनि छलफल गरिने प्रतिवद्धता जनाए ।

कलकारखानाबाट निस्किएको फोहर सिधै मिसाइँदा नदीमा प्रदुषण बढेको भन्दै उनीहरुले काठमाडौंमा धर्ना दिँदै आएका छन् । उनीहरुले सिर्सिया नदीको पानी भरिएको बोतल गृहमन्त्रीलाई देखाएका छन् ।