आजको शेयर बजार झिनो अंकले बढ्यो, कारोवार रकम कति ? 

काठमाण्डौँ - साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.०६ अंकले बढेर १ हजार ९६०.८१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ३४९.५८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘सरकारले नीतिमा कडाई गर्दा बजार माथि उठ्न सकेन । ५० लाख माथिको सेयर  कर्जालाई अहिले पनि निरुत्साहित गरिएको छ । सरकारले नीतिगत सुधार गर्नुको विकल्प नरहेको लम्सालले बताए ।  

त्यस्तै अर्का बजार जानकार प्रकाश रजौरेले पनि अर्थमन्त्रीको आश्वासन र पूँजी बजारप्रति सरकारको उदासिनताका कारण बजार बढ्न नसकेको बताए ।
आज व्यापार समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । यो दिन व्यापार समूह १.०९ प्रतिशतले घट्यो ।  

त्यस्तै बैंकिङ समूह ०.०८, वित्त १.०२,होटल ०.०४,हाईड्रो ०.४४,लगानी ०.४९,जीवन बीमा ०.३० प्रतिशत उत्पादन तथा प्रशोधन ०.५५ र निर्जीवन बीमा ०.३० अंकले घट्यो ।