'जीवी राईलाई पक्राउ गर्ने विषय जटिल छ' : गृहमन्त्री लामिछाने

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुरा भइसकेको बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले राईलाई पक्राउ गर्नेबारे आफूले मलेसियाका गृहमन्त्रीसँग छलफल गरिसकेको बताएका हुन् ।

रास्वपा सभापति समेत रहेका लामिछानेले केही कानुनी जटिलताका कारण राईलाई ल्याउन अप्ठ्यारो पर्ने भए पनि त्यसबारे समेत त्यहाँको राजनीतिक तहमा छलफल गरेको जानकारी दिए । लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका राई नेपालबाट भाग्ने वातावरण कसरी बन्यो यसबारे समेत आफूले नजिकबाट हेरिरहेको बताएका छन् । 

राईमाथि अनुसन्धान जारी रहेको र अहिले सबै कुरा भन्न नमिल्ने उनले बताए । गृहमन्त्री लामिछानेले आफूविरुद्धको संसदीय छानबिन समिति के का लागि भन्दै प्रश्न गरेका छन् ।