विश्वको आर्थिक वृद्धि १९९० यताकै कम !

काठमाडौँ -  अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले सन् २०२३ मा पनि मन्दी जारी रहने बताएकी छन् । भारत र चीनमा मात्रै उल्लेख्य आर्थिक वृद्धि रहने उनको भनाइ छ । 

उनले यस वर्ष विश्वको आर्थिक वृद्धि तीन प्रतिशतभन्दा कम रहने र त्यसको आधा हिस्सा भारत र चीनको हुने बताएकी छन् । “आगामी पाँच वर्षसम्म तीन प्रतिशतभन्दा कम आर्थिक वृद्धिसहितको आर्थिक सुस्तता रहनेछ । जुन सन् १९९० यताकै सबैभन्दा न्यून मध्यम अवधिको वृद्धि प्रक्षेपण हो । विगत दुई दशकको औसत ३.८ प्रतिशतभन्दा कम हो,” आईएमएफ प्रमुखले बिहीबार भनिन् । 

“उदीयमान अर्थतन्त्रहरूमा केही आर्थिक वृद्धि हुने देखिन्छ । एसिया उज्यालो ठाउँ हो । भारत र चीनले २०२३ मा विश्वव्यापी वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरिएको छ । तर, अरूले सामान्य वृद्धि देख्नेछन्,” उनको भनाइ छ ।