एमाले सोलुको अध्यक्षमा बास्तोला निर्वाचित 

काठमाडौँ । नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका निम्ति निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष बास्तोला अर्को कार्यकालका लागि भारी मतसहित विजयी भएका हुन् ।

उनले २५५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी हर्कबहादुर राईले १२५ मत पाए । यस्तै, उपाध्यक्षमा आशकुमार राई २७७ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गरे ।

सचिवमा कल्पना राई, उपसचिव खुलामा मिङमाछिरी शेर्पा, उपसचिव महिलामा मोहनकुमारी कार्की विजयी भएका छन् । उपसचिव खुलाका निम्ति पाँच र उपसचिव महिलाका लागि चार उमेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

९० सदस्यीय जिल्ला कमिटी चयनका निम्ति ४२० जनाले मतदान गरेका थिए । गएको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि शनिबार निर्वाचन भएको हो । रासस