'साझा न्यूनतम कार्यक्रमलाई अब कार्यान्वयन गर्नुपर्छ' : सांसद थापा

काठमाण्डौँ - नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएमा छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गरे । सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्ने नेता थापाको भनाइ छ ।

साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उनले एक दिन, एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिए । साझा कार्यक्रममा छुटेका कार्यक्रम थप्न सुझाव दिँदै उहाँले सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा पनि कतिपय अवस्थामा काम प्रभावकारी नहुने भएकाले यसमा प्रभावकारी काम गर्न आग्रह गरे । 

बैठकमा नेकपा माओवादी केन्द्रका नेता एवं सांसद देवेन्द्र पौडेलले संविधान र अहिलेको राजनीतिक व्यवस्थाले जनतालाई सरकारी सेवा लिन सहज भएको र समावेशी भएको उल्लेख गरे ।