एमाले कालीकोटको अध्यक्षमा मल्ल विजयी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कालीकोटको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा मल्लले २१८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी दयाराम सिम्खडाले १८६ मत ल्याए ।

यही चैत २१ गतेदेखि सुरु भएको ११औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिबार निर्वाचन भएको थियो । पदाधिकारीमा अध्यक्ष मल्लको प्यानल नै विजयी भएको छ ।

उपाध्यक्षमा टेकबहादुर बुढा २१० मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी कमलबहादुर शाहीले १७२ मत प्राप्त गरे ।

सचिवमा पुष्पराज आचार्य २१२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी खडानन्द चौलागाईंले १५८ मत प्राप्त गरे ।

उपसचिव खुलामा पवित्र शाही १६८ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धीहरू प्रेमबहादुर बुढाले ९२ र लंकबहादुर बमले ९८ मत पाएको निर्वाचन समितिका सदस्य भरत विष्टले जानकारी दिए ।

उपसचिव महिलामा ताराकुमारी शाही २१२ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिस्पर्धी शुभद्रा सिंहले १५७ मत पाइन् ।

निर्वाचनमा कुल ४२८ मतदातामध्ये ४२४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।