महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दर्ता, बलात्कार र भ्रूण हत्या गर्न बाध्य पारेको आरोप

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको छ ।

पूर्व उद्योगमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध एक महिलाले आफूमाथि बलात्कार भएको दाबीसहित हुलाकमार्फत जाहेरी पठाएकी हुन् ।

एमालेकै सदस्यसमेत रहेकी ती महिलाले भ्रूण हत्या र बलात्कारमा प्रतिवादी बनाएर जाहेरी दिएको जनाइएको छ ।

ती महिलाले आफूमाथि बस्नेतले काठमाडौँ बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतमासमेत बलात्कार गरेको जाहेरीमा उल्लेख गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनले आफूसँगको सम्बन्धपछि बस्नेतले भ्रूण हत्या गर्न बाध्य पारेको पनि बताएकी छन् । उनले बस्नेतलाई मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गराएको कसुरमा कारबाही माग गरेको एसएसपी खत्रीले जानकारी दिए ।