सुर्तीजन्य पदार्थको प्रयोगले नेपालमा प्रतिघण्टा चार जनाको मृत्य 

काठमाडौँ ।  नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको पछिल्लो सर्वेक्षणमा सुर्तीजन्य पदार्थको प्रयोगबाट  प्रतिघण्टा चारजनाको मृत्यु हुने गरेको देखाएको छ ।

अध्ययनले प्रतिवर्ष ३७ हजार ५२९ जनाको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको देखिएको हो । प्रतिष्ठानले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले नेपालमा १५ देखि ६९ वर्षसम्मका ३४.१ प्रतिशत जनसंख्याले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेको देखाएको छ ।

प्रतिवेदन अनुसार १०.७ प्रतिशतले धूमपान, १८.९ प्रतिशतले धुवाँरहित सुर्तीजन्य पदार्थ र ४.५ प्रतिशले दुवैखाले पदार्थ प्रयोग गर्ने गरेका छन् । सुर्तीजन्य पदार्थको उपभोग दर पुरुषमा ५७ र महिलामा ११ प्रतिशत छ ।

सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ३४ प्रतिशतमध्ये सबैभन्दा धेरै ५५ देखि ६९ वर्ष उमेर समूहका  व्यक्ति धेरै छन् । यो उमेरका ५६ प्रतिशतले कुनै न कुनै प्रकारबाट प्रयोग गर्ने गरेको पाइएको छ ।

विशेष गरेर युवा वर्गमा हुक्का र ई–सिगरेटको प्रयोग बढ्दै गएको सर्वेक्षणले देखाएको छ । उनीहरूमा बिँडी वा हातले बनाइने सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ११ प्रतिशत छन् भने ई–सिगरेट २.२ प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको छ ।

यस्तै, ८.३ प्रतिशतले हुक्का र ६७ प्रतिशले चपाएर खाने पदार्थ र २८ प्रतिशतले धूमपान गर्ने गरेको सर्वेक्षणले देखाएको छ ।सुर्तीजन्य पदार्थको प्रयोगका कारण रोग लागी वार्षिक ४४ अर्ब क्षति हुने गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षण सन् २०२४ को सुरुआतमा सबै प्रदेशका १८ स्थान छनौट गरी गरिएको थियो ।