चार डीआईजी भए एआईजीमा बढुवा, को-को परे ?

काठामाडौँ - सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक डिआइजीलाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो ।
एआईजीमा बढुवा हुनेमा डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ रहेका छन् ।

गत असारमा १७ जना एकसाथ डिआइजीमा बढुवा भएका थिए। ती मध्ये ८ जना एआईजी बनेका हुन् भने सोही बेला डिआइजी भएका वसन्तबहादुर कुँवर आइजिपी भएका छन् । यसअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका थिए । उनीहरूको पदस्थापन पनि भइसकेको छ । आज बढुवा भएका एआईजीहरू कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानव स्रोत विभाग र प्रदेश समन्वय विभागमा पदस्थापन हुनेछन् ।