स्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनले सहकार्य गर्ने, संयुक्त घोषणापत्र सार्वजनिक

काठमाडौं - आगामी चैत्र पाँच गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनल सहकार्य गर्ने भएका छन्।

नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेकपा मोटो मसाल निकट विद्यार्थी संगठन अखिल छैटौंले आगामी स्ववियु निर्वाचनमा सहकार्य गर्ने भएका हुन्।

तीन क्रान्तिकारी विद्यार्थी संगठनले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन्।

घोषणपत्र सार्वजनिक कार्यक्रममा बोल्दै अअिखिल छैटौंका संयोजक दीपक पौडेलले निकट भविष्यमा क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई संगठित गर्ने उद्देश्यका साथ सहकार्य अगाडि बढाइएको बताए।

‘हामी अखिल छैटौं, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी तीन वटा संगठनबीच सहकार्य गरेर एकताबद्ध भएर निर्वाचनमा जाने घोषणा गरेका छौं। त्यतिमात्रै होइन हामी निकट भविष्यमा क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई संगठित गर्ने उद्देश्यका साथ विद्यार्थी संगठनको एकता प्रक्रिया पनि हामीले अगाडि बढाएका छौं,’ उनले भने।

पञ्चायती व्यवस्थामासमेत विद्यार्थी आन्दोलनले स्ववियुको स्थापना गरेपनि आज गणतन्त्र आउँदा पनि नियमित स्ववियु निर्वाचन हुननसक्नु दुःखद् भएको उनले बताए। ठूला दल निकट विद्यार्थी संगठन अहिलेको स्ववियु निर्वाचनमा अस्वसनसहित आएको भन्दै उनले त्यसबाट सचेत हुन आम विद्यार्थी मतदातालाई आग्रह गरे।

अहिलेको शैक्षिक समस्या समाधानका लागि श्रमसँग जोडिएको शिक्षा नीति आवश्यक रहेको उनले बताए। सरकारसँग आफूलाई कति शैक्षिक जनशक्ति चाहिने भन्ने बारेमा योजना नै नभएको उनले बताए।

अहिले शिक्षा क्षेत्र दलाल पुँजीपति वर्गको हातमा पुगेको उनको आरोप छ। आफूहरु अबको विद्यार्थी आन्दोलन कसरी अगाडि बढाउने भन्ने बारेमा लागि रहेको उनले बताए । विद्यार्थीहरुलाई परिवर्तन र आन्दोलनका बारेमा बुझाउन आवश्यक रहेको उनले बताए।