सडकमा बत्ती जडान गर्दा मिटर जडान गर्न र महसुल समयमै भुक्तानी गर्न विद्युत् प्राधिकरणको अनुरोध

नेपाल विद्युत् प्राधिकरणले सडकमा बत्ती जडान गर्दा मिटर अनिवार्य जडान गर्न र सडक बत्तीको महसुल समयमै भुक्तानी गर्न अनुरोध गरेको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सूचना निकालेर विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै समयमै भुक्तानी गर्न भनेको हो ।

यस्तै पालिकाहरुले प्राधिकरणको सहमति नलिइ आफूखुसी सडक बत्ती जडान गर्ने र मिटर समेत जडान नगरिएका सडक बत्तीको महसुल नतिर्ने गरेको प्राधिकरणको भनाइ छ । सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नुपरेको सूचनामा उल्लेख छ ।

प्राधिकरणले सडकमा बत्ती जडान गर्दा मिटर जडान नगरेमा र महसुल समयमै नतिरेमा नियम अनुसार कारबाही हुने चेतावनी पनि दिएको छ ।