एसियन क्रस कन्ट्रीः दिपक अधिकारीलाई स्वर्ण

काठमाडौं - १६ औं एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटरमा नेपालका दीपक अधिकारीले स्वर्ण जितेका छन् ।

मंगलबार काठमाडौंको गोकर्णमा भएको प्रतियोगीतामा दीपकले ३३ मिनेट ५२.०१ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नेपालले पहिलो पटक क्रस कन्ट्रीमा स्वर्ण जितेको हो । जापानका डाइची कामिनोले रजत पदक प्राप्त गरे । २६ जनाले भाग लिएको प्रतिस्र्पामा नेपाली मुकेशबहादुर पाल ३४ मिनेट ३३.३९ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेका छन् ।

सिनियर महिला १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितेकी छिन् । राजपुराले निर्धारित दुरी ४१ मिनेट ३१ सेकेण्डमा पार गर्दै रजत पदक जितेकी हुन् । सो स्पर्धामा जापानकी युवा सरुमिदाले निर्धारित दुरी ३८ मिनेट ३३ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितिन् । भारतकी सोनीकाले कास्य पदक जितिन् । सोनीकाले निर्धारित दुरी ४१ मिनेट ३१ सेकेण्डमा पार गरिन् ।

त्यस्तै सिनियर पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ । दीपक, मुकेश र अर्का दीपकले १ घन्टा ४३ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेर स्वणर् पदक जितेका हुन् । इरानले रजत र भारतले कास्य पदक जितेको छ ।