जनमत पार्टीले गणतन्त्र दिवसका दिन  शक्ति प्रदर्शन गर्ने 

काठमाडौँ । जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने भएको छ ।  जेठ १५ गते मनाइने ‘गणतन्त्र दिवस’ का दिन जनमत पार्टीका अध्यक्ष सिके राउतको नेतृत्वमा काठमाडौँको भृकुटी मण्डपमा प्रदर्शनसहित आमसभाका आयोजना हुने भएको हो ।

बुधवार जारी गरेको एक विज्ञप्ती अनुसार नयाँ व्यवस्था ल्याउन र निर्वाचन गराउनका लागि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै सरकार, पार्टी र शीर्ष नेताको संलग्नता र संरक्षणमा भएका भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन गरेर सजाय दिन सरकारसँग माग गरिएको छ ।

देशको उत्पादन प्रणाली निजी क्षेत्रको हातमा दिने तर राज्यले नियमन गर्ने र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारहरूबाट कोही वञ्चित नहोस् भनी सुनिश्चित गर्न भनिएको छ ।

 ‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’ भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ’ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” ल्याऔँ’ भनी नाराका साथ आयोजना हुने आमसभामा अध्यक्ष राउतले जेठ १५ गते नौ बुँदे माग राख्दै तेस्रो जनआन्दोलनको घोषणा गर्नेछन् ।