सरकारले स्वदेशमा अवसर सिर्जना गर्न नसक्दा लाखौँ युवाले देश छोडे :  पदम गिरी   

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले स्वदेशमा अवसर नदेखेर युवा पुस्ता विदेश पलायन हुनुपरेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा  बोल्दै उनले युवाहरूलाई देशमा रोजगारी दिने भनेर अघि नबढे जनताको सेवा गरेको भन्न नसकिने बताए ।

उनले भने, “जसरी रुख सुक्यो भने त्यसमा रहेका चराहरू हरियो रुखमा जान्छन् । यो देशमा मेरो भविष्य छैन भनेर पलायन हुने ठाउँमा मान्छे पुगेका छन्, ।” 

प्रमुख सचेतक गिरीले रोजगार नपाएर, बैंकको ब्याज तिर्न नसकेर युवा बाहिर जानुपरेको बताए । युवा थिए र गए भन्ने ढंगले प्रस्तुत हुन नहुने उनको भनाइ छ ।

जनताको सरोकारको विषय, संविधान कार्यान्वयन र ऐन कानुन निर्माण तथा सुशासन समृद्धिका मुद्धामा बहस हुन नसकेको उनको भनाइ छ । सदनलाई प्रभाकवारी बनाउने काममा सबै पक्ष चुकेको बताए ।  नेकपा एमालेले कानुन निर्माण र जनताको विषय सदनमा जोडदार ढंगले उठाउने बताए ।