प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने माधव नेपालको टिप्पणी

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गरे ।

उनले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने अध्यक्ष नेपालको भनाई थियो । उनले राष्ट्रिय सभा अध्यक्षको चयनमा सत्तारुढ दलहरुबीच विवादको विषय नबन्ने जिकिर समेत गरे ।