व्यवसायी अरुण चौधरीसहित तीनैजना थुनामुक्त

काठमाडौँ । व्यवसायी अरुण चौधरीसहित तीनैजना थुनामुक्त भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी चौधरी सहित तीन जना अदालतको आदेश अनुसार आज छुटेका हुन् ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ परेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले गत माघ १८ गते बिहीबार काठमाडौंको लैनचौरबाट उनीहरुलाई पक्राउ गरेको थियो ।