राष्ट्रपति कार्यकारी भूमिकामा देखिएको रास्वपाका सभापति लामिछानेको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकका राष्ट्रपति कार्यकारी भूमिकामा देखिएको आरोप लगाएका छन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भएर गएको विधेयक संविधान विपरित रोकेको दृष्टान्त पेश गर्दै उनले संविधानले सेरेमोनियल भनेपनि राष्ट्रपति कार्यकारीको भूमिकामा देखिएको बताए।

आईतबार संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका भाग लिँदै सभापति लामिछानेले राष्ट्रपतिलाई संवैधानिक व्यवस्था विपरित कार्यकारी भूमिका आउने नदिने खालको प्रावधान संविधानमा नै व्यवस्था गर्नुपर्ने बताए।

राष्ट्रपतिलाई संविधान विपरित चल्न नदिने प्रावधान संविधानमा भएमात्रै संघीय संसदको दुवै सदनबाट पठाएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनमा आउने उनको भनाई थियो।

उनले संवैधानिक परिषद्को बैठकमा परिषद्का सदस्यहरु अनिवार्य उपस्थिति हुने प्रावधानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।