राष्ट्रियसभा निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने

काठमाडौँ ।  राष्ट्रियसभा निर्वाचनका लागि आज  मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सदस्यका लागि हुने  मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगले जानकारी दिएको छ ।

पुस २० गते प्रारम्भिक नामावली निकालेको आयोगले हिजोका लागि मतदाता नामावलीमा दाबी, विरोध तथा कुनै त्रुटी भए सच्याउन समय दिए पछि आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

आयोगका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता बिहान १० देखि दिउँसो तीन बजेसम्म हुनेछ । मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजुरी भए पुस २४ गते उजुरी दिन सकिनेछ ।