आजपाद्धारा तेस्रो चरणको आन्दोलन घोषणा, यस्तो छ तयारी

काठमाडौँ । भन्सार निवमावलीमा रहेको कमिसनसम्बन्धी व्यवस्था हटाउन माग गर्दै आएको प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

पहिलो चरण र दोस्रो चरण गरी करिब ४ महिना आन्दोलन गरिसकेको आजपाले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । जसअनुसार पार्टीका अध्यक्ष प्रभु साहले पौष २७ गते राजस्व नीतिबारे अर्थ बिज्ञहरुसँग काठमाडौँमा अन्तरक्रिया गर्नेछन् ।

यस्तै पौष २५ देखि माघ १० गतेसम्म सीमाक्षेत्रका स्थानीय तहहरुमा भेला, अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने,  माघ ६ गते भन्सार नीतिबारे राजनीतिक पार्टी तथा सांसदहरुसँग छलफल गर्ने,  माघ ११ देखि १९ गते तराईका जिल्ला सदरमुकाममा सर्वपक्षीय भेला तथा मोटरसाइकल र्याली गर्ने तय भएको छ ।

यसैगरी ⁠माघ १३ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने र माघ २१ गतेदेखि अनिश्चितकालसम्म भन्सार विभाग तथा जिल्लाका भन्सार कार्यालयहरु घेराऊ गर्ने तय भएको साहले जानकारी दिए । भन्सार कानूनमा रहेको गलत प्रावधानहरू नहटेसम्म आफूहरुको आन्दोलन जारी रहने उनको भनाइ छ ।