बरहथवा घटनामा ११ बुँदे सहमति : अस्पतालको नाम जयशंकर राखिने, मृतक साहलाई सहिद घोषण गरिने

काठमाडौँ । सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । बरहथवामा बसेको छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।

सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । जिल्ला सुरक्षा समिति सर्लाहीका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलासहित घटनाका पीडित पक्षहरु, मधेश प्रदेश सरकारका अर्थमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, बरहथवा नगरपालिकाका प्रमुख, दलका प्रतिनिधि र सरोकावाला व्यक्तिहरूको उपस्थितिमा उक्त सहमति भएको हो।

शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नेबारे भएको विरोध प्रदर्शनपछि सृजित समस्या समाधान गर्नेबारे बसेको बैठकले उक्त सहमति जुटाएको हो। बैठकले विभिन्न ११ बुँदे सहमति जुटाएको हो।

जसअनुसार प्रहरीको गोलीबाट मारिएका बरहथवा नगरपालिका वडा नं.६ का युवा व्यवसायी जयशंकर साहको सम्झनामा प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गरिने भएको छ। त्यसैगरि मृतक साहका आश्रित परिवारका १ जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने भएको छ। उता यो गोलीकाण्डमा दोषी प्रहरी कर्मचारीलाई छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति पनि बैठकले गरेको छ।

त्यसैगरी मृतक साहलाई सहिद घोषणा गर्ने प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले मृतक साहको शवलाई तत्काल व्यवस्थापन गरी पोस्टमार्टमपछि आफन्तलाई बुझाउने निर्णय पनि गरेको छ।