विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु

मोरङ - विराटनगरको सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकाको वडा नं। ७ स्थित मुख्य बजारको बीच सातघुम्तीमा रहेको कबाडी गोदाममा बुधबार भएको आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

दिउसो करिब डेढ बजे परफ्युमको बट्टा फुटाल्ने क्रममा गोदाममा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदारहरुले जनाएका छन् । आगलागीमा घाइते अन्य ३ जना सुशिला पासमान, रिता सरदार र पिंकी मण्डलको न्यूरो अस्पतालमा उपचार भईरहेको छ भने किशोर पासमानको कोशी अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये दुई अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।