एमाले लुम्बिनीको अध्यक्षमा विष्णु पौडेल पक्षका राधाकृष्ण विजयी

 बुटवल - नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् ।

विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए ।
अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा एक उपसचिवबाहेक अरु सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।