बागलुङमा पहिरोले चार घर पुरिए, एक जनाको मृत्यु  

काठमाडौँ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ ।

ती घरमा मानिस भएरनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाध्यक्ष कृष्ण बहादुर केसीले बताए । घटनास्थल वरपरका सर्वसाधारणको फोन समेत नलागेकाले उद्धारमा कठिनाई भैरहेको उनले बताए ।