'प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्न मिल्दैन' : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्न नमिल्ने बताएका छन् ।

पार्टीनिकट प्रेस सेन्टरले बिहीबार बिहान चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्नु संसदीय मान्यताविपरितको कुरा रहेको बताएका हुन् ।

‘स्टन्टबाजीको रूपमा बाहिर प्रचार गर्नु र भाषण गर्दा बोल्नु एउटा कुरा हो,’ उनले भने, ‘तर प्रधानमन्त्री जो  बहुमतद्वारा निर्वाचित छ, उहाँको राजीनामा माग गरेर संसद अवरूद्ध गर्नु संसदीय मान्यताविपरीतको कुरा हो। त्यसो गर्न मिल्दैन ।‘

उपप्रधानमन्त्री श्रेष्ठले यी कुराहरू बुझेर विपक्षी दलहरूले  संसदलाई सुचारू गर्न सहयोग गर्नेमा आशावादी रहेको बताए ।