५ महिनामै राजनीतिबाट अलग भइन् एलिजा गौतम

 काठमाडौँ - नायिका एवं मोडल एलिजा गौतमले आफूले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् । पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर राजनीतिमा जोडिएकी गौतमले देश र जनताको सेवा गर्ने भन्दै राजनीति त्यागेको घोषणा गरेकी हुन् ।

गौतमले राजनीति त्यागेको घोषणा बिहीबार फेसबुकमा लामो स्टाटस लेख्दै गरेकी हुन् । उनले उक्त स्टाटसमा धरानका मेयर हर्क साम्पाङलाई भेटेर आफू उनको कामबाट प्रभावित भएको बताएकी छन् ।

गौतमले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन् । साथै उनले साम्पाङलाई भेटेर वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उक्त स्टाटसमा उल्लेख गरेकी छन् ।

यस्तो छ एलिजा गौतमको फेसबुक स्टाटस 

समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट बिदा

धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।

आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।

दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।