काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टा खुल्ने तयारी 

काठमाडौँ । आउँदो नयाँ वर्षदेखि काठमाडौँको ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा खुल्ला राख्ने तयारी भइरहेको छ ।

मुख्य पर्यटकिय क्षेत्र ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुल्ला गर्नेबारेमा हिजो सरोकारवाला र गृह मन्त्रालयका पदाधिकारीबीच छलफल समेत भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा भएको छलफलमा पूर्ण समयमा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिमा भएका प्रावधानबारे काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी गराए ।

जसअनुसार राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वनी नियन्त्रणको व्यवस्था गर्नुपर्नेछ ।

बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको छ । जसमा श्रमिकको नाम थर ठेगानासहितको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी, क्लब र डिस्कोलगायतमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन पाइने छैन ।

अत्याधिक जाँडरक्सी खाएर अचेत हुनेगरी मातेका सेवाग्राहीलाई घरसम्म पुर्‍याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, कलाकारहरूले गायन तथा प्रदर्शन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।