अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित 

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

बैठकको निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले समितिले राष्ट्रिय सभाबाट उत्पत्ति भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको बताए ।

उनले विधेयक संसदबाट पारित भइसकेपछि ढिलासुस्ती गर्ने, आयोजना प्रमुख, ठेगदार कम्पनी, कार्यालय प्रमुख, सरकार वा मन्त्रीलाई अनुगमन गर्न सहज हुने बताए ।

सभापति खतिवडाले समितिले पारित विधेयक बुधवारपछि बस्ने संसदको बैठकमा पेस गर्ने पनि जानकारी दिए । उनले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पनि अन्तिम चरणमा पु¥याएको र अध्यक्ष र बहुमत सदस्य की अध्यक्ष बाहेकको बहुमत सदस्य भन्ने कुरा मिलाउन शिर्ष नेतालाई जिम्मेवारी दिएको बताए । शिर्ष नेताहरुले नटुंग्याएको खण्डमा प्रक्रियागत रुपमा निर्णयमा पुग्ने बताए । 

समिति सभापति खतिवडाले चालु हिउँदे अधिवेशनमा राज्य व्यवस्था समितिले पहिलो पटक राज्य व्यवस्था तथा सुशासन समितिले समितिबाट विधेयक पारित गरेर संसदमा प्रश्तुत गरेको बताए ।