सर्लाहीमा जीप दुर्घटना : एक जनाको मृत्यु , १० जना घाइते

काठमाडौँ । सर्लाहीमा नापी कार्यालयका कर्मचारीहरु सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति मलंगवा नगरपालिका-११ गमहरियामा कर्मचारी सवार बी आ ०६ पी डी ९६४८ नम्बरको सफारी गाडी उखु लोड भएको ज२त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा ११ जना घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका सर्लाहीको बागमती नगरपालिका-५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति मृत्यु भएको छ ।

उनको वीरगञ्ज नजिक रहेको एनएस न्युरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ । घिमिरे नापी कार्यालयका कर्मचारी हुन् कि होइनन्, प्रहरीले खुलाएको छैन । तर, बोलेरोमा सवार अधिकांश कर्मचारी भएको अनुमान प्रहरीको छ ।

घाइतेमध्ये नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपाका ४५ वर्षीय संजय मान्धर, मलंगवा-३ का ३५ वर्षीय रामलाल साह र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर छन् । थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

त्यस्तै मध्यम घाइते हुनेहरुमा सर्लाहीको कौडेना गाउँपालिका २ बस्ने वर्ष २४ का संजित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका २ बस्ने वर्ष ३० का रिटेन यादव, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ५० का बैधनाथ पटेल, मलंगवा नगरपालिका ७ बस्ने वर्ष ३४ का रामबावु राय, धनुषाको शहीदनगर नगरपालिका ७ बस्ने वर्ष २९ का दिपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका २० बस्ने वर्ष २४ का शहीद अनवर र महोत्तरी बस्ने वर्ष २५ का अजय यादव छन् ।

दुर्घटना पश्चात ट्याक्टर चालक फरार भएका छन् । उनको खोजिसँगै दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।