राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा बरहथवा घटनाप्रति दुःख व्यक्त, दोषीलाई तुरुन्त कारबाही गर्न माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  शुक्रवार सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट एक युवाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाई राख्दै उनले लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका छन् ।

ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको लामिछानेले उल्लेख गरेका छन् ।   

उनले भनेका छन्– ‘ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको छ । लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ । यस दुखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त करबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु। ’