अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने सर्वोच्चको आदेश

संखुवासभा - सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ । संखुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने निर्णय उक्त अदालतले गरेको हो । अरुण पीडित सङ्घर्ष समितिविरुद्ध हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।

अरुण तेस्रो प्रवेश मार्ग छ्याङ्कुटी–पुखुवाको जग्गाको मुआब्जा नपाएका जग्गाधनीले वर्षौंदेखि मुआब्जा रकमको माग गर्दै आन्दोलन गर्दै आएका थिए । सर्वोच्च अदालतले विरोधको कार्यक्रम गरी निर्माण कार्यलाई अवरोध नगर्न आन्तरिम आदेश जारी गरेको हो । अरुण तेस्रोका तर्फबाट अधिवक्ताद्वय रमणकुमार कर्ण र विशेष थापाले गरेको बहसको सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले सो आदेश दिएको हो ।