योग शारीरिक अभ्यास मात्र नभएर मनको विज्ञान पनि हो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग शारीरिक अभ्यास मात्र नभएर मनको विज्ञान भएको बताएका छन् ।

गृह मन्त्रालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशालाको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले समाजलाई सकारात्मक मार्गमा डोहोर्‍याउन र विश्वभर मानवताको प्रवद्र्धन गर्न योगध्यानको महत्वपूर्ण भूमिका रहेको बताए ।

गृहमन्त्री श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्वपूर्ण सहयोग हुने बताएका छन् । उनले भने, ‘ध्यानमार्फत व्यक्ति पूर्ण जागृत अवस्थामा पुग्छ, यसबाट व्यक्तिको कार्यक्षमता पनि अभिवृद्धि हुन्छ ।’

उनले दैनिक योगाभ्यास तथा ध्यानको प्रयोगबाट तनावमुक्त जीवनयापन, गहिरो शान्ति, सत्चरित्रवान् र ऊर्जावान् बन्न प्रेरित तथा परिणाममुखी काम गर्न सकिने दृष्टान्त दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले योग तथा ध्यानको प्रयोगले प्रशासन र सुरक्षा निकायका कर्मचारीलाई असल मनसायका साथ कार्य सम्पादन गर्न प्रेरित गर्ने तथा राज्यले सुम्पेका जिम्मेवारी पूरा गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

गृह मन्त्रालयले औपचारिक निर्णय गरेर नै प्रत्येक कार्यालयमा कामका सुरुआतमा १५ मिनेट ध्यान गरेर सकारात्मक ऊर्जाका साथ काम गर्ने वातावरण बनाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।