देशभर २८ सय मेगावाट बिजुली उपलब्ध रहेको उर्जा मन्त्री बस्नेतको दाबी  

 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार ८५२ मेगावाट बिजुली उपलब्ध रहेको दाबी गरेका छन् ।

नेपाल उद्योग व्यापार महासंघको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुग्ने बताए ।

ऊर्जामन्त्री बस्नेतले २०७२ पछि मुलुकको ऊर्जा क्षेत्रले अपेक्षित प्रगति गरेको बताउँदै पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको बताए । यस्तै, उनले आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत थपिने जानकारी दिए ।

मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा थप प्रगति गर्न अझ मेहनत जरुरी रहेको उल्लेख गर्दै समस्याको जगमा नै समाधान खोज्न सकिने बताएका थिए ।

उनले बहकिएर मात्रै मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अगाडि बढाउन नसकिने धारणा राख्दै अर्थतन्त्रको दबाब चिर्दै राष्ट्रिय पुँजी निर्माण गर्न सरकार र व्यवसायी एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिए ।