ट्रम्प अमेरिकी राष्ट्रपतिको दौडमा सामेल हुने/नहुने निर्णय अब सर्वोच्चले गर्ने

काठमाडौँ - अमेरिकाको सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको दौडमा सामेल हुने वा नहुने विषयमा ऐतिहासिक मुद्दाको सुनुवाइ गर्ने बताएको छ । यो मुद्दाको सुनुवाइ फेब्रुअरीमा हुनेछ र यसको फैसला सम्पूर्ण देशमा लागू हुनेछ ।

कोलोराडो राज्यको फैसलाविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशले सुनुवाइ गर्न सहमति भएका छन् । कोलोराडोले आफ्नो निर्णयमा ट्रम्पलाई प्राथमिक चुनाव लड्नबाट रोक्न २०२४ को मतपत्रबाट हटाएको थियो । डोनाल्ड ट्रम्पले पनि माइन राज्यले लिएको यस्तै निर्णयलाई चुनौती दिएका छन् ।

ठ्याक्कै तीन वर्षअघि आजको दिन ६ जनवरी २०२१ मा राष्ट्रपति चुनावमा जो बाइडेनको हातबाट पराजित भएपछि ट्रम्पका समर्थकहरूले क्यापिटल हिलमा हुलदंगा मच्चाएका थिए । यस विद्रोहमा ट्रम्प संलग्न भएको आरोप लगाउँदै र ट्रम्पलाई राष्ट्रपति चुनावबाट अयोग्य ठहराउनुपर्ने माग गर्दै धेरै राज्यमा मुद्दा दायर गरिएको थियो ।