पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण

काठमाडौँ - गीतकाररसाहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।

मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रालिको आयोजनामा भएको कार्यक्रममा लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा पुरुषोत्तम दाहाल र साहित्यकार तथा वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमीले कृतिको समीक्षा गरेका हुन् ।

प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले कृतिमा रहेका कविताको चर्चा गर्दै अनुका कविताको तारिफ गरेका थिए। उनले अनुको स्वास्थ्यलाभको कामना गर्दै आत्म विश्वास सबैभन्दा ठूलो ओखती रहेको अनुभव सुनाए । आफ्नो स्वास्थ्यको अनुभव सुनाउँदै उनले पछिल्ला खोज अनुसन्धानले जटिल रोगहरू पनि निको हुँदै गएको बताए। कतिपय आफ्ना कुरालाई नबुझेर विरोध गर्नका लागि मात्रै चर्चामा ल्याउने गरेको उनको भनाइ थियो ।

फरक प्रसंगमा उनले कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिएका थिए । अध्यक्ष ओलीले सो कुरा सही ठहरिए एक हजार थपेर दिने चुनौती दिएका हुन् ।